पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तिब्र पारिने | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

पोखरा महानगरभित्र ८१ हजार रोपनी सार्वजनिक जग्गा, संरक्षण अभियान तिब्र पारिने

काठमाडौँ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिव ८१ हजार १५५ रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ । महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण संकलन गर्दा सो परिमाणमा सार्वजनिक जग्गा देखिएको उहाँले बताउनु भयो । प्रमुख आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका ल्ँीग् महानगरले विशेष अभियान शुरु गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ । सोही अवसरमा ट्रेड युनियन महासंघले आफ्नो स्वामित्वमा रहेको एक भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । वि.सं. २०६७/६८ सालमा मजदुरहरूको श्रम र पारिश्रमिकको योगदानबाट करिव १ करोड ६५ लाख रुपैयाँको लागतमा निर्मित सो भवन सरकारी प्रयोजनका लागि उपयोगी हुने देखिएकाले महानगरले स्वामित्व ग्रहण गरेको हो ।

भवन हस्तान्तरणका क्रममा उठेका श्रमिकका सवालहरूलाई सम्बोधन गर्दै प्रमुख आचार्यले ट्रेड युनियनका मुद्दाहरू व्यवस्थापन गर्न महानगरपालिकामा छुट्टै ‘डेस्क’ स्थापना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले विगतमा विभिन्न संघ–संस्थालाई जग्गा र भवन उपलब्ध गराउने नीति रहे पनि वर्तमान अवस्थामा ती संरचनाहरूलाई सार्वजनिक हित र सरकारी काममा अधिकतम उपयोग गरिने स्पष्ट पार्नुभयो । महानगरले सार्वजनिक सम्पतीको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वंस गर्ने मात्र नभई तिनलाई सकारात्मक ढङ्गले उपयोग गर्ने नीति लिएको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार