नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) लगाउने निर्णय कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो । ठूल्ठूला होटलगायतका पर्यटन क्षेत्रहरुमा उक्त निर्णय कार्यान्वयनमा जटिलता देखिएका ती समस्या तत्काल समाधान गर्न सरकारलाई दबाब दिनुपर्ने अवस्था आएको महासंघका अध्यक्ष खिमनारायण पराजुलीले बताउनु भयो । उहाँले व्यवसायीलाई अनावश्यक दवाव दिने गरी कुनै पनि निर्णय नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
अध्यक्ष पराजुलीले भन्नुभयो,‘बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको एमआरपी व्यवस्था स्वागतयोग्य भएपनि यसको कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक छ । नेपालको बजार संरचना, साना तथा मझौला व्यवसायीहरुको अवस्था, उत्पादन तथा वितरण प्रणाली भन्सार तथा कर प्रक्रियाका व्यवहारिक पक्षहरुलाई मध्यनजर गर्दै एमआरपी प्रणालीचरणवद्ध रुपमा न्युन विजकलाई निर्मुल गरी व्यवसायीमैत्री वातावरण बनाएर मात्र सम्भव छ । उद्योगी, व्यवसायी र सरोकारवालाहरुसँग पर्याप्त परामर्श तथा समन्वय गर्नुपर्ने । साना व्यवसायीका कारण सहजीकरण र अभिमुखिकरण कार्यक्रम आवश्यक । कर तथा विलिङ प्रणालीलाई स्पष्ट बनाउने व्यवस्था हुनुपर्ने । बजार व्यवस्थापनको नाममा व्यवसायीलाई अनाआवश्यक दबाब आउन नदिने व्यवस्था गर्न सरकारसँग आग्रह छ । एमआरपी नीति कार्यान्वयनको क्रममा देखिने समस्या समाधान गर्न तत्काल सरकारले सम्बन्धित पक्षसँग छलफल गर्ने व्यवस्था गरिनु पर्दछ।’
महासंघले एमआरपी कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैंत्री बनाउन, साना व्यवसायीलाई उक्त विषयमा सचेत गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।





