काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्यौलता हटेको दाबी गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेका उक्त मन्त्रालय सम्बन्धि जिज्ञासाहरुको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री कुमारीले सरोकारवालाहरुसँगको नियमित समन्वयबाट सरकारले त्यस सम्बन्धमा देखिएको अन्यौलता हटाउने काम गरेको मन्त्री कुमारीको भनाई थियो ।
उहाँले एमआरपी र आयत नियमन सम्बन्धि कानूनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले आवश्यक कार्य योजना स्विकृत गरी आयात भएको बस्तुमा एमआरपी भएनभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई दिएको पनि संसदलाई जानकारी गराउनु भयो ।मन्त्री कुमारीले सरकारले उपभोक्ता हित सम्बन्धि ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न पनि उचित व्यवस्था मिलाएको बताउनु भयो । उहाँले भारतमा चिया निर्यातमा देखिएको अवरोध पनि सरकारले हटाउन सफल भएको बताउनु भयो ।





