निजी क्षेत्रको हकहित र संस्थागत सुदृढीकरणका लागि एकजुट हुन निःवर्तमान अध्यक्ष ढकालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

निजी क्षेत्रको हकहित र संस्थागत सुदृढीकरणका लागि एकजुट हुन निःवर्तमान अध्यक्ष ढकालको आग्रह

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको साख जोगाउन र एजेण्डाहरू स्थापित गर्न सम्पूर्ण व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । महासंघको ६० औँ वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनपछि आयोजित पद हस्तान्तरण तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसहितको कार्यसमितिलाई बधाई दिँदै ढकालले निर्वाचनका दौरान भएका समूहगत प्रतिष्पर्धालाई बिर्सेर अब एक ढिक्का भई अगाडि बढ्न आग्रह गर्नुभयो ।

आफ्नो कार्यकालमा भोग्नुपरेका चुनौती र हासिल भएका उपलब्धिहरूको स्मरण गर्दै ढकालले महासंघको जग अहिले धेरै बलियो बनेको दाबी गर्नुभयो । कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान, निजी क्षेत्रलाई अख्तियारको दायरामा राख्ने प्रयासको प्रतिवाद र ५० वर्ष पुराना कानूनहरूको सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन हुनुलाई उहाँले महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्नुभयो । नवनियुक्त अध्यक्षलाई सुझाव दिँदै उहाँले व्यक्तिगत व्यवसायभन्दा संस्थाको गरिमा र अध्यक्षको जिम्मेवारीलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। । साथै, निजी क्षेत्रलाई केवल नाफामुखी समूहका रूपमा हेर्ने सार्वजनिक र सरकारी दृष्टिकोणमा परिवर्तन ल्याउन ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति’ को कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । मुलुकको राजश्व, रोजगारी र पूर्वाधार निर्माणमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दै ढकालले वर्तमान सरकारसँग निजी क्षेत्रका मागहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन नयाँ कार्यसमितिलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार