काठमाडाैं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य (सभामुख) अर्जुननरसिंह केसीले जनताले सरकार परिवर्तन मात्र नभई शासन सञ्चालनको संस्कृति र संस्कारमै आमूल परिवर्तन खोजिरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र प्रतिनिधि सभाप्रति जनताको ठूलो अपेक्षा रहेको बताउनुभएको हो ।
उहाँले नेपाली जनताको ताजा जनादेशबाट गठित संसदलाई आशा, विश्वास र उत्सुकताका साथ हेरिएको उल्लेख गर्नुभयो । मन्त्रीपरिषद्ले हालै सार्वजनिक गरेको १०० बुँदे शासन सुधार कार्यसूची स्वागतयोग्य रहेको उल्लेख गर्नुहुँदै उहाँले यसको प्रभावकारी कार्यान्वयनका लागि समय, समर्पण र निष्पक्षता आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको संविधानको समावेशी, समानतामूलक र जनसर्वोच्चताको भावनाप्रति सबै राजनीतिक शक्तिहरू प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । विभाजनभन्दा एकता, उत्तेजनाभन्दा चेतना र आवेगभन्दा विवेक प्रयोग गर्दै राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न आजको आवश्यकता रहेको उहाँको भनाई छ ।
संविधान र संवैधानिक अधिकारको रक्षा गर्दै जनताको विश्वासलाई व्यवहारिक नीति, योजना र परिणाममार्फत सम्बोधन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभयो । उहाँले विगतमा पटक–पटक भएको प्रतिनिधिसभा विघटन र त्यसबाट सिर्जित राजनीतिक अस्थिरताले शासन प्रणाली, प्रशासन र राष्ट्रिय जीवनमा गम्भीर असर पारेको उल्लेख गर्नुभयो । संवैधानिक संस्थाहरूको निष्पक्षता, स्वायत्तता र पारदर्शितामा गिरावट आएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्ता प्रवृत्तिमा अब पूर्णविराम लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संसदीय अभ्यासमा देखिएका कमजोरीहरूले नीति निर्माण, कानुन तर्जुमा र सरकारलाई जनउत्तरदायी बनाउने प्रक्रियामा समेत असर पु¥याएको उल्लेख गर्नुभयो । अब विकास, अर्थतन्त्र र सुशासनसँग सम्बन्धित विधेयकहरूलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्यानुभयो ।
उहाँले राजनीतिक अस्थिरता र पुराना प्रवृत्तिबाट दिक्क भएका जनताले नयाँ सरकारसँग नयाँ संस्कार, नयाँ संस्कृति र नयाँ कार्यशैलीको अपेक्षा गरेकाले नयाँ सरकारले सोही अनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो । संसदमा सभ्य भाषामा आफ्ना अभिव्यक्तिहरु राख्न पनि उहाँले आग्रह गर्नुभयो ।





