‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभाग : प्रविधि र बजेटको अभाव मुख्य चुनौती’ | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभाग : प्रविधि र बजेटको अभाव मुख्य चुनौती’

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा निकट भविष्यमै सात दिनसम्मको पूर्वानुमान गर्ने योजना बनाएको छ ।  जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्गले यसबारे जानकारी दिनुभएको हो ।

मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानलाई थप भरपर्दो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानाङ्गले पूर्वानुमानको शुद्धताका लागि अवलोकनका तथ्यांकहरू गुणस्तरीय हुनुपर्ने बताउनु भयो । नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना र डढेलो जस्ता मौसमी प्रकोपले ठूलो क्षति पु¥याइरहेको उल्लेख गर्दै उहाँले विभागले हाल भूउपग्रह (स्याटेलाइट), राडार, रेडियोसोण्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिनुभयो ।

प्रधानाङ्गका अनुसार विभागले हाल ‘न्युमेरिकल वेदर मोडलिङ’ मार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी गर्दै आएको छ । यो तथ्यांक सडक विभाग, खानी तथा भूगर्भ विभाग र कृषि सूचना तथा तालिम केन्द्र जस्ता निकायहरूलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ ।

विभागले हाल पर्वतारोहण, हवाई उड्डयन, कृषि र शहरी क्षेत्रका लागि विशेष पूर्वानुमान सेवाहरू प्रदान गरिरहेको उहाँले बताउनु भयो । विशेषगरी हवाई मौसम सेवालाई डिजिटाइज गरिएको र २१ वटा स्थानीय तहका लागि ‘प्रभावमा आधारित पूर्वानुमान’ शुरु गरिएको उहाँले बताउनु भयो । सन् २०१० पछि नेपालको मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको चर्चा गर्दै प्रधानाङ्गले आगामी दिनमा सात दिनसम्मको पूर्वानुमान गर्ने प्रणाली विकास गर्ने बताउनुभयो । साथै, मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याउने र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ (निर्णय सहयोग प्रणाली) बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानाङ्गले मौसमको सटिक अवलोकन र विश्लेषणबाट नै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश रायले जल तथा मौसम विज्ञान विभागका प्राविधिक रामविकेश रायले नेपालको जलविज्ञान (हाइड्रोलोजी) क्षेत्रमा अवलोकनदेखि सेवा प्रवाहसम्म महत्वपूर्ण कार्य भइरहेको भएपनि प्रविधि र बजेटको अभाव मुख्य चुनौतीका रूपमा रहेको बताउनुभयो । रायले विभागले जलविज्ञान र मौसम विज्ञानका दुवै पक्षलाई समेटेर सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार हाल देशभर २ सय ३० वटा जलस्तर मापन केन्द्रहरू रहेका छन्, जसमध्ये २ सय ६ वटा स्वचालित (अटोमेटिक) भइसकेका छन् । विभागले राडार लेभल सेन्सर, स्टाफ गेज र डिस्चार्ज मापनमार्फत तथ्याङ्क सङ्कलन गर्दै आएको छ । रायले विभागले मुख्य गरी तीन प्रकारका जलवैज्ञानिक सेवाहरू प्रदान गरिरहेको बताउनुभयो । जलविद्युत आयोजनाहरूको क्षमता गणना, विश्वविद्यालयका विद्यार्थीको अनुसन्धान र बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबीका लागि आवश्यक तथ्याङ्क प्रमाणीकरण गर्ने काम विभागले गर्दै आएको उहाँले बताउनुभयो ।

वास्तविक समयको जलस्तर, वर्षा र माटोको चिस्यानलाई आधार मानी विभिन्न मोडेलमार्फत बाढीको पूर्वानुमान गरिन्छ । यसरी तयार पारिएको सूचना बुलेटिन, सामाजिक सञ्जाल, एसएमएस,रेडियो, टेलिभिजन र टोल फ्री नम्बर ११५५ मार्फत प्रवाह गरिन्छ । रायकाअनुसार नारायणी बेसिनको क्षेत्रमा बाढी पूर्वानुमानको शुद्धता करिव ९० प्रतिशतसम्म पुगेको छ । च्छोरोल्पा र इम्जा हिमतालमा अर्ली वार्निङ सिस्टम जडान भइसकेको र आगामी दिनमा जीसीएफ प्रोजेक्टमार्फत थप चारवटा हिमतालमा यस्तो प्रणाली विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । रायले अपर्याप्त प्रविधि र कठिन भूगोललाई प्रमुख समस्याका रूपमा औंल्याउनु भयो । जलवायु परिवर्तनका कारण बढ्दो अतिवृष्टि र अनावृष्टिले पूर्वानुमानमा अनिश्चितता थपेको रायको भनाइ छ । सूचनाको पहुँचमा नभएका समुदायका लागि साइरन वा लाउडस्पिकरको प्रयोग गरी ‘सफल पूर्वसूचना प्रणाली’ विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मौसमले मानिसको जनजीवनलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । हेलस्टोम, भारी वर्षा, हुरीबतास र डढेलो जस्ता विपद्हरुले हरेक वर्ष क्षति पु¥याइरहेको अवस्थामा विभागले अवलोकन प्रक्रियालाई डिजिटाइज गर्दै लगेको छ । सेटेलाइट, राडार र रेडियोसोण्ड जस्ता आधुनिक उपकरणहरुको प्रयोगबाट प्राप्त तथ्यांकलाई न्युमेरिकल वेदर मोडलिङमा फिट गरेर पूर्वानुमान तयार पारिन्छ।

Leave a Reply

ताजा समाचार