'पाँच वर्ष टिक्ने प्रधानमन्त्री र सुशासनको बहस' | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

‘पाँच वर्ष टिक्ने प्रधानमन्त्री र सुशासनको बहस’

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको बताउनुभएको छ । मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले काँग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गर्नुभएको हो । उपसभापति शर्माले पछिल्लो समय नेपाली काँग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गर्नुभयो । उहाँले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुली लगायतका प्रभावशाली नेताहरू काँग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।

पाँच वर्ष टिक्ने प्रधानमन्त्री र सुशासनको बहस
शर्माले देशमा पटक–पटक सरकार परिवर्तन हुने खेलले विकास रोकिएको बताउँदै अब ५ वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धतिका बारेमा गम्भीर बहस हुनुपर्ने प्रश्ताव राख्नुभयो ।

विदेशिएका नेपालीका लागि ’जीडीपीपी’ अवधारणा र बूढीगण्डकी परियोजना
विदेशमा रहेका नेपालीहरूलाई देशको विकासमा जोड्न काँग्रेसले ‘जीडीपीपी’ को अवधारणा ल्याएको शर्माले बताउनु भयो । उहाँले १२०० मेगावाटको बूढीगण्डकी परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउने र त्यसमा डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना सुनाउनु भयो ।

‘मेरो वडा म जिताउँछु’ अभियान र सुनिल शर्माको समर्थन
उपसभापति शर्माले मोरङ क्षेत्र नं. ३ का उम्मेदवार डा. सुनिल शर्मालाई भारी मतले विजयी गराउन अपिल गर्नुभयो । उहाँले डा. शर्मालाई ‘गरिबीको गहिराइबाट उठेर हजारौँको जीवन बचाएको सक्षम युवा’ को रूपमा चित्रण गर्नुभयो । चुनाव जित्नका लागि प्रत्येक कार्यकर्तालाई आफ्नो वडाको जिम्मेवारी लिन आग्रह गर्दै उहाँले ‘मेरो वडा म जिताउँछु’ अभियान चलाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा उहाँले विपक्षीलाई गाली नगरी संस्कारयुक्त राजनीति गर्न र मतदाताको मन जितेर परिणाम निकाल्न कार्यकर्ताहरूलाई प्रेरित गर्नुभयो ।

Leave a Reply