एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास समूहलाई हतियार त्याग्न असफल भएमा कडा रूपमा सामना गरिने चेतावनी दिनुभएको छ । हमासले हतियार त्याग्ने प्रतिवद्धता गरेको बताउनु भयो । ट्रम्पले वाशिङ्टन डीसीमा बोर्ड अफ पिसको उद्घाटन बैठकलाई सम्बोधन गर्दै यदि उनीहरूले गरेनन् भने धेरै कडा रूपमा सामना गर्नुपर्ने बताउनुभयो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भन्नुभएकाे छ की ह्वाइट हाउसले हमासले हतियार त्याग्नुपर्ने र गाजालाई पूर्ण रूपमा निःशस्त्रीकरण गर्नुपर्नेमा सहमत छ । जसपछि मात्र युद्ध प्रभावित क्षेत्रमा पुनर्निर्माण शुरु हुन सक्ने बताइएको छ ।
हमासले बोर्ड अफ पिसलाई हस्तक्षेप गर्न आह्वान गरेको थियो । गाजा पट्टीमा इजरायलको निरन्तर उल्लङ्घन रोक्न माग गरेको थियो । हमासले यो मञ्चको बैठकलाई इजरायलले आफ्नो सैन्य अभियान जारी राख्नको लागि बहाना बनाउन सक्ने चेतावनी दिएको थियो । हमासका प्रवक्ता हाजेम कासेमले टेलिभिजन वक्तव्यमा भन्नुभएको थियो की विगत चार महिनाका घटनाक्रमहरूले इजरायलले युद्ध रोकेको छैन तर केवल तरिका र रूप परिवर्तन गरेको देखाउँछन् ।
उहाँले हत्या, विस्थापन, नाकाबन्दी र भोकमरी जारी रहेको बताउनु भयो । यो घटना गाजामा युद्धविरामपछि पुनर्निर्माण र हमासको निःशस्त्रीकरणको विषयमा अन्तर्राष्ट्रिय प्रयासहरूको बीचमा आएको हो । जहाँ ट्रम्प प्रशासनले बोर्ड अफ पिसमार्फत शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रयास गरिरहेको छ ।





