काठमाडाैं । झापा भ्रमण सकेर काठमाडौं फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर उहाँका समर्थकहरूको ठूलो भीड जम्मा भएको छ । राजावादी तथा राष्ट्रवादी समूहहरूका कार्यकर्ताहरूले राष्ट्रिय झण्डा फहराउँदै, विभिन्न नारा लगाउँदै पूर्वराजाको स्वागत गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा लगायतका व्यक्तिहरू पनि विमानस्थल पुगेर स्वागतमा सहभागी भएका छन् । उहाँको आगमनलाई लिएर विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गर्दै पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको भएपनि समर्थकहरूले निषेधाज्ञा छलेर भीड जम्मा गरेका छन् । प्रहरीले विमानस्थलदेखि निर्मल निवाससम्मको क्षेत्रमा उच्च शतर्कता अपनाएको छ । एसपीको कमान्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाइरहेका छन् भने केहीले पूर्वराजाको गाडी देख्नासाथ हात हल्लाएर अभिवादन गरेका छन् ।





