काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहीवार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ वटा निर्वाचन क्षेत्रको आगि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले जानकारी दिनुभयो ।
उहाँले प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने उल्लेख गर्दै एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको बताउनु भयो । उहाँकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरी रुजु (जाँच) समेत गरेर ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । मुद्रण अधिकृत कोईरालाले छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य पूरा भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको बताउनुभयो ।
आजदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी कार्य शुरु गरिएको उहाँको भनाइ छ । उहाँले कर्णालीसँगै सुदूरपश्चिम, कोशी लगायतका प्रदेशमा चरणवद्ध रूपमा मतपत्र पठाउने कार्ययोजना रहेको पनि बताउनु भयो । निर्वाचन आयोगले आगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पु¥याइसक्ने लक्ष्यसहित काम गरिरहेको उहाँको भनाइ छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ । कोईरालाकाअनुसार बिहीवारसम्म कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, ह्म्ला, कालिकोट, जुम्ला, जाजरकोट दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य समेत सम्पन्न भइसकेको छ ।





