काठमाडाैं । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले सहमति, सहकार्य र एकताको खाँचो औँल्याएर नै संघको एकता गरिएको बताउनुभएको हो ।
उहाँले विभाजनको कारण संघ विगत चार वर्ष अत्यन्तै कठिन परिस्थितिमा पुगेको बताउनुभयो । अफ्ठ्यारो परिस्थितिलाई एकता गरेर आफूहरुले देशमा नयाँ सन्देश दिन खोजेको उहाँको भनाइ छ ।
उहाँले संघमा मात्रै नभएर समृद्ध नेपाल निर्माणका लागी नेपालका राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था सबैतिर सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । त्यो एकताको नेतृत्व संघले गरेको उहाँको भनाइ छ । एकीकृत संघ अब समृद्ध नेपाल निर्माणको लागी लाग्ने उहाँले बताउनुभयो ।
विदेशमा रहेका ज्ञान, सिप र पुँजी नेपाल भित्र्याउने अभियान यो एकताबाट शुरु भएको उहाँले बताउनुभयो । उहाँले विभाजनले संघका मुद्दा कमजोर बन्नुका साथै नेपालमा लगानी भित्र्याउन पनि समस्या भएको बताउनुभयो ।





