नेपालका कम्युनिष्ट पार्टीहरूमा टुट्फुट र एकता प्रक्रिया विगतदेखिनै निरन्तर जारी छ । मुख्य धार मानिएका ठूला कम्युनिष्ट पार्टीहरूबाट फुटेका साना दलहरु पुनः एकताका लागि पहल गरिरहेका छन् । चार वर्षअघि नेकपा एमालेबाट फुटेर बनेको नयाँ दल एकीकृत समाजवादी हाल नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियाको अन्तिम चरणमा पुगेको छ, तर दुबै दलभित्र एकता विरोधी स्वरहरु पनि चर्कोरुपमा देखिएका
छन् ।
नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट पार्टीहरू टुट्फुटको शिकार भइरहेका छन् तर एकताका लागि निरन्तर पहल पनि हुँदै आएको छ । नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी निर्माण भयो भने माओवादी केन्द्रबाट फुटेर आधा दर्जनभन्दा बढी विभिन्न नामका नयाँ दलहरू अस्तित्वमा आए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेबाट फुटेर एकीकृत समाजवादी गठन गरे, तर पार्टी गठनको चार वर्षमै चरम गुटबन्दी र असन्तुष्टि थेग्न नसकेर माओवादी केन्द्रसँग एकता गर्ने निर्णयमा पुगे । एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने भनेर केन्द्रीय कमिटी बैठकबाट पास गरिसकेको छ तर सक्रिय नेताहरुबाटै एकताको चर्को विरोध पनि भइरहेको छ ।
समग्रमा हेर्दा नेपालमा साना ठुला गरी दर्जनौ कम्युनिष्ट नामका दलहरु अस्तित्वमा छन् । जेन जी आन्दोलनपछि दलीय आधारमा निर्माण भएको केपी शर्मा ओलीको सरकार सत्ताच्युत भएपछि हाल पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । सरकारले फागनु २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको अवस्थामा माओवादी केन्द्रले साना कम्युनिष्ट पार्टीहरुलाई एकतामा ल्याएर निर्वाचनमा जानुपर्ने बताएको छ । अहिलेको राजनीति तरल अवस्थामा रहेकाले एकतामा ढिला भए थप समस्या निम्तिन सक्ने माओवादी केन्द्रको बुझाइ छ ।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल सम्पत्ति शुद्धिकरण र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचारको मुद्दामा राज्यको निगरानीमा रहेका कारण उनीहरुको नेतृत्वमा पार्टी एकता हुन नसक्ने नेताहरुको भनाइ छ । जेन जी आन्दोलनले पुराना नेता बाहेकको पार्टी निर्माण गर्न माग गरेको तर माओवादी केन्द्र र एकीकृत समाजवादीमा पुरानै नेताहरु सामेल भएर हुने एकताले माग पुष्टि हुन नसक्ने नेताहरु बताउँछन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन लागेको एकताले कम्युनिष्ट पार्टीलाई बलियो बनाउन नसक्ने केही नेताहरुको बुझाइ छ । विभिन्न विचारसँग आवद्ध रहेर गठन भएका कम्युनिष्ट पार्टीको एकता फरक विचार राख्ने दलहरुसँग हुन नहुने उनीहरुको भनाइ छ । दुबै पार्टीका पुराना नेताहरुले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको मुद्दालाई ओझेलमा पार्न एकता अघि बढाएको आरोपसमेत लगाएका छन् ।
टुटफुट हुँदै आएको कम्युनिष्ट दलहरूबीच एकताको प्रयास जारी रहे पनि एकतापछि पनि साना दलहरुको अस्तित्व रहने गरी पुनर्गठन हुने गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमपछि एकता गर्न तम्सिएका कम्युनिष्ट पार्टीहरुको सुखद् भविष्य हुन सक्ने कुरामा भने विगतको इतिहासले शंकाकै घेरामा राखेको छ । नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरूको एकता र विभाजनको चक्र विगतदेखिनै चल्दै आएकाले हाल भइरहेको एकता प्रयासले पनि मूर्त रुप लिने सम्भावनामा भने शंका गर्न सकिन्छ ।





