काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताउनुभएको छ । उहाँले आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास, भय महशुस गरिरहेको बताउनुभएको हो ।
सरकारको चरित्र र कार्यप्रणालीबाट नागरिकहरूमा भय र अनिश्चितता हट्न नसकेको उहाँको भनाइ छ । उहाँले राजनीतिक अभियन्ता, कार्यकर्ता, नेता वा शुभचिन्तकहरूले स्वतन्त्र रूपमा सत्यको वकालत गर्नुपर्ने बेला डर महशुस गर्नुपर्ने परिस्थिति बनिरहेको दाबी गर्नुभयो ।
उहाँले दण्डहीनता फैलन नदिने र विधिको शासन कायम हुनुपर्नेमा जोड दिनुभयो । परिभाषित जिम्मेवारीअनुसार राज्यका अंगहरूले निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले अनाधिकृत व्यक्तिहरूले राज्य संयन्त्रमा खुलेआम प्रवेश गरेर निर्देशन जारी गर्नु लोकतान्त्रिक शासनका लागि अस्वीकार्य भएको बताउनुभयो । हामी नेपाल संस्था नामक एनजीओका सुधन गुरुङले पछिल्लो समय जेन-जीको नाममा सरकारी संयन्त्रलाई खुलेआम रुपमा निर्देशन दिने, महत्वपूर्ण बैठकमा प्रवेश गर्ने लगायतका कार्य गर्दै आउनुभएको छ ।
गुरुङले केही समयअघि नेपालको वर्तमान संविधान च्यात्ने कि जोगाउन भन्नेमा आफू दोधारमा रहेको समेत बताउनुभएको थियो । नेता बर्तौलाले केही भीड वा व्यक्तिले ६०–७० वर्षको बलिदानीबाट बनेको संविधान च्यात्ने कि जोगाउने भन्ने द्विविधामा पर्ने अवस्था आउन दिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
राज्यका औपचारिक निकायहरूमा अनाधिकृत रूपले पहुँच र निर्देशन दिने घटना लोकतान्त्रिक, लोक कल्याणकारी शासनका लागि उपयुक्त नभएको बताउनुभयो । यसमा सम्बन्धित मन्त्रालय र नेतृत्वलाई मुख्य दोषी रहेको औंल्याउँदै उहाँले त्यस्तो अनुशासनहीनता रोक्न आग्रह गर्नुभयो । नेतृत्वले नै कसलाई कुन तहमा भुमिका दिने, कसलाई प्रवेश गराउने र कसको निर्देशन लिने भन्ने निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।
यसमा गरेको लापरवाहीले देशलाई दिशाहीनतातर्फ लैजान सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । सामाजिक सञ्जाल तथा सार्वजनिक मिडियामा देखिएका दृश्यहरूले सुरक्षा संयन्त्र र कर्मचारीहरूको मनोबलमा नकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो । राज्यलाई असल ढंगले कसरी चलाउने, परिभाषित जिम्मेवारी के हुन्छ भन्ने कुरामा स्पष्टता हुनुपर्नेमा जोड दिनुभयो ।
नेता बर्तौलाले राज्यका अंगहरूले निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा जनताको सेवा गर्न पाउने वातावरण सुनिश्चित गर्नु अहिलेको सरकारको कर्तव्य र जिम्मेवारी भएको बताउनुभयो । सामाजिक पुनर्मिलन र सहिष्णुताका आधारमा देशलाई अगाडि बढाउनुपर्ने र प्रतिशोधको संस्कृति नभई समन्वय र संवादको माध्यमबाट समाधान खोज्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
राजनीतिक कोर्स अहिले निर्णयात्मक संकटमा
नेपालको समग्र राजनीतिक कोर्स अहिले निणायक संकटको बिन्दुमा पुगेको उहाँको भनाइ छ । वैधानिक सरकारबाट देश अन्तरिम सरकारको अवस्थामा पुगेको उल्लेख गर्नुहुँदै उहाँले यो वर्तमान सरकार गठन प्रक्रिया नै संवैधानिक र कानूनी दृिष्टले कति उपयुक्त हो भन्ने प्रश्न उठ्ने बताउनुभयो । राजनीतिक ढंगबाट हेर्दा यो असंवैधानिक भएको उहाँको दाबी छ ।
नेपाल ठूलो आर्थिक संकटमा पर्नेसक्ने
एमाले नेता बर्तौलाले नेपाल ठूलो आर्थिक संकटमा पर्नेसक्ने बताउनुभयो । जेन-जी आन्दोलनका क्रममा भएका निजी लगानीमाथिको हमलाका कारण देशमा ठुला लगानी आउन सक्ने स्थिति कमजोर बनेको उहाँको आकलन छ । यसले बेरोजगारीको समस्या सिर्जना गर्ने उहाँले बताउनुभयो । नेपालमा विस्तारै भित्रिने लागेको ठूला विजनेस चेनहरु समेत अब रोकिने खतरा बढेको उहाँको भनाइ छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा पनि विस्वास गुमाउँदै गएको उहाँले बताउनुभयो । यसले नेपालको आर्थिक क्षेत्रमा ठूलो असर गर्ने उहाँको बताउनुभयो ।
उहाँले बाढीपहिरोको समयमा सरकारले देखाएको तत्परताको भने प्रशंसा गर्नुभएको छ । जल तथा मौसम विभागले जारी गरेको मौसमसम्बन्धी सूचनाअनुसार सरकारले अपनाएको शतर्कताका कारण मानवीय क्षति कम भएको उहाँले बताउनुभयो ।





