शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि बन्यो कार्यदल | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि बन्यो कार्यदल

काठमाडाैं । शेयर बजारमा अप्रत्याशित रुपमा पहिरो गएपछि सरकारले कार्यदल बनाएको छ । अर्थमन्त्री रामेश्वर खनालले शेयर बजारमा देखिएका समस्या अध्ययन तथा समाधानका लागि चार सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।

शुक्रबार (आज) मन्त्रिस्तरीय निर्णयमार्फत गठित कार्यदलको संयोजक नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीलाई तोकिएको छ । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कार्यवाहक कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहनुभएको छ । निरौलालाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयकाअनुसार कार्यदललाई पाँच दिनभित्र ठोस कार्यान्वयन कार्ययोजना सहितको सुझाव पेश गर्न निर्देशन दिइएको छ । पाण्डेयले पुँजीबजारमा देखिएका विसङ्गति अध्ययन गरी लगानीकर्ताको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले प्रणालीगत र प्रक्रियागत सुधारका लागि यो कदम चालिएको बताउनुभएको छ ।

जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीवार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको थियो । बिहीबार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भएको थियो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो । परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको थियो ।

दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेट बन्द भएको थियो । १२ः४ मा तेस्रो पटक खुलेको कारोबार खुलेलगत्तै पुनः १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुगेको थियो । त्यससँगै बिहीबारका लागि कारोबार नै बन्द हुन पुगेको थियो । सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएपछि अर्थमन्त्री खनालले चासो देखाएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply