जेन्जी आन्दोलनले सरकार परिवर्तन मात्रै होइन, प्रणाली परिवर्तनको माग मुख्यरुपमा उठाएको छ । अब बन्ने सरकारले संविधान पुर्नलेखन, भ्रष्टाचारीलाई दण्डित गर्नु, राजनीतिक शुद्धीकरण र उत्तरदायी शासन प्रणालीको स्थापना गर्नु अपरिहार्य छ । पटक पटक सत्तामा पुगेर भ्रष्टाचारमा डुबेका नेताहरु, आफ्नो स्वार्थ पुरा गर्न दलाली गरेर भ्रष्टाचारलाई बढावा दिने दलालहरु तथा भ्रष्ट कर्मचारीलाई कारबाही नगरेसम्म जेन्जी आन्दोलनको मर्म समेटिएको मानिने छैन ।
विगत केही समयदेखि राजनीतिक तरंगको रुपमा देखापरेको जेन्जीको आक्रोससँगै सुरु गरेको आन्दोलनमा घुषपैठ गरेर स्वार्थी समूहले सार्वजनिक तथा निजी भौतिक सम्पत्तिमाथि आगो लगायो र जेन जीलाई बद्नाम गरेर आफ्नो स्वार्थको रोटी सेक्ने सपना देख्यो । तर अब स्वार्थी समूहमा को को र कस कसको हात छ भन्ने विषय जेन जीसँग प्रसस्त प्रमाण भएकाले कसैले उम्किने अवस्था रहन्न । जेन जी आन्दोलनले भ्रस्ट र तानासाही सरकारलाई अपदस्त गर्न सफल भयो । जेन जी आन्दोलनले नेपालको राजनीतिलाई एक प्रकारको ऐतिहासिक परिवर्तनको विन्दुमा उभ्याएको छ ।
हालसम्म नेपालमा भएका राजनीतिक परिवर्तन राजनीतिक दलहरुकै आन्दोलनमा हुने गरेका थिए, तर जेन्जी आन्दोलन कुनै दलमा आवद्ध नभइ स्वतन्त्र युवाहरुको आन्दोलन हो, जसले पचास वर्षदेखि राजनीतिको केन्द्रमा रहेका नेताहरुको राजनीति ध्वस्त बनाइदियो । यो आन्दोलनले सरकार परिवर्तन मात्रै होइन, राजनीतिको नशामा लट्ठिएर भ्रष्टाचारमा लिप्त नेताहरुकाविरुद्ध जनताको आक्रोशलाई प्रकट गर्यो । ५१ जना होनहार युवाहरुको बलिदानबाट प्रेरित जेन्जी आन्दोलन अब कुनै सामान्य उभार होइन, यो नेपालको राजनीतिक पुनर्संरचनाको चेतावनी हो । तर, सरकार फेरिए पनि प्रणाली नफेरिएसम्म जनताले अनुभूति गर्ने परिवर्तन सम्भव हुँदैन र यो आन्दोलनको मर्मलाई पनि आत्मसाथ गर्दैन ।
अन्तरिम सरकारले संविधान संशोधन वा पुनर्लेखन गरी निर्वाचन प्रणाली, प्रदेशको संरचना हटाएर केन्द्र र स्थानीय तह मात्र राख्नुपर्ने आवाजलाई संवोधन गर्नुपर्छ । २०४६ साल यताका राजनीतिक क्षेत्रमा लागेका नेता, कर्मचारी तीन वटै सुरक्षा निकायका प्रभावशाली उच्चपदस्थ सवैको सम्पत्ति छानविन गरी अकुत सम्पत्ति कमाएका भ्रस्टलाई कारबाही र उनीहरुको सम्पत्ति राष्ट्रको ढिकुटीमा जम्मा गर्नुपर्छ । सबै राजनीतिक दलका भ्रस्ट नेतालाई फेरि टाउको उठाउन नसक्ने गरी सवै क्षेत्रबाट तिरस्कार गर्नुपर्छ ।
अब बन्ने सरकारले गर्ने पहिलो र सबैभन्दा महत्वपूर्ण काम भनेको संविधान पुर्नलेखनको बहस शुरु गर्नु हो । संविधान परिवर्तन गर्नुको आशय लोकतान्त्रिक मूल्य र संस्थाहरुको पुर्नजागरण गर्नु हो, जसबाट न्याय, जवाफदेहिता र जनहितमा आधारित शासन प्रणाली सुनिश्चित हुन्छ । संविधानमा रहेका सत्ता केन्द्रीकरण, भ्रष्टाचारी संरक्षण तथा कानुनी ढोका बन्द गर्ने प्रावधानहरुलाई सुधार नगरी देशको व्यवस्थामा ठूला परिवर्तन सम्भव छैन ।
यसका साथै भ्रष्टाचारकोविरुद्ध कडा कदम चाल्नु अत्यावश्यक छ । पुराना पुस्ताका प्रधानमन्त्री, मन्त्री, सांसद र दलका शीर्ष नेताहरु जसले विगत तीन दशकमा जनताको नाममा शक्तिमा पुगेर व्यक्तिगत र गुटगत स्वार्थका लागि शासन चलाए, उनीहरूमाथि निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाही अपरिहार्य छ । राष्ट्रिय सम्पत्तिको दोहन गर्ने, नीतिगत भ्रष्टाचार गरेर सार्वजनिक सम्पत्ति बेचेर आर्थिक लाभ लिने र दलालीको जालो बुनेर राज्यका सम्पूर्ण अंगहरुलाई भ्रष्टाचारको दलदलमा फसाउने अपराधीहरुलाई दण्डित नगरेसम्म जेन्जी आन्दोलनको आक्रोश मर्ने देखिदैन ।
नयाँ सरकारले रणनीतिक मार्ग पहिल्याउनु पर्छ । सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको संरचनागत सुधार आवश्यक छ । सुरक्षाकर्मीले शासन नभइ नागरिकको रक्षा गर्ने भएकाले प्रहरी, प्रशासन र न्यायालयलाई कुनै दलको पिछलग्गु बनाइनु हुँदैन, स्वतन्त्र, पारदर्शी र उत्तरदायी बनाइनुपर्छ ।
पार्टीभित्रका भ्रष्ट तत्वलाई छुट्याउने, जनतामा उत्तरदायी नेतृत्व विकास गर्ने र लोकतान्त्रिक मूल्यको प्रशिक्षण अनिवार्य गर्ने गरी सबै राजनीतिक दलहरुले आन्तरिक राजनीतिक शुद्धीकरणको अभियान चलाउनु अपरिहार्य छ ।
सांसददेखि प्रधानमन्त्रीसम्मको सार्वजनिक कार्यशैलीको आधारमा मूल्याङ्न गरिने प्रणाली विकास गर्न आवश्यक छ ।
जेन्जी आन्दोलन एक प्रकारको स्वतन्त्र युवा आन्दोलन हो । आन्दोलनका सन्देशलाई आत्मसात गर्दै संरचनात्मक सुधार, भ्रष्टाचार विरुद्धको अभियान र जनताको हितमा कार्यक्रमहरू लागू गरियो भने यो आन्दोलन राष्ट्र निर्माणका लागि कोशेढुङ्गा सावित हुनेछ । राष्ट्रपति, प्रधानमन्त्री तथा राष्ट्रसेवकहरूको अबको भूमिका भनेको शक्तिको उपभोग होइन, जनताको सेवा हो । राष्ट्रपतिले संविधानको संरक्षकको रुपमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । प्रधानमन्त्रीले नीति र निष्ठामा आधारित शासन चलाउनुपर्छ, र कर्मचारीहरूले दण्डहीनता अन्त्य गर्नेतर्फ कठोर कदम चाल्नु आवश्यक छ ।





