काठमाडाैं । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानबिन गर्न समिति बनाइएको बताउनुभएको छ । बुधबार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको बताउनुभएकाे हाे।
गृहमन्त्री लेखकले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरु कार्यहरु गर्ने गरी समिति बनाइएको बताउनुभयो । उहाँले समितिले आफ्नो अवधिभित्र प्रतिवेदन दिने बताउनुभयो । कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको उहाँकाे भनाइ छ।
गृहमन्त्री लेखकले अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । बाँकी चार जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको बताउनुभयो । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहनुभएको बताउनुभयो ।
उहाँले मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको पनि बताउनुभयो । कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी सात सय जना बन्दी रहेको बताउनुभयो ।
साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको बताउनुभयो । कारागरामा बन्दीहरुको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरुको नेतृत्वकर्ताहरु १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरुको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरुलाई सम्झाउने लगायतका कार्य भएको बताउनुभयो ।
गृहमन्त्री लेखकले कारागारको अहिलेको स्थिति सामान्य रहेको र अहिले कुनै समस्या नरहेको बताउनुभयो । कारागारमा सुरक्षाकर्मी र प्रशासनको सहज पहुँच रहेको भन्दै उहाँले आगामी दिनमा दुःखद् घटना हुन नदिने कुराको सुरक्षाबाट प्रत्याभुत गरिएको बताउनुभयो ।
आवश्यकताअनुसार सुरक्षाकर्मीको उपस्थिति रहेको गृहमन्त्री लेखककाे भनाइ छ ।





