काठमाडौँ ।
सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो ।बैठकले आउँदो असोज एक गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो ।
सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट गाडी दर्ता, नामसारी र नवीकरण गर्दा असोज एकदेखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र त्यसको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने तथा गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय रहेको छ ।
यसैगरी छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र अर्थात लाइसेन्स छपाइका लागि भदौ मसान्तभित्र छपाइ शुरू गर्न सुरक्षण मुद्रण केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले १० वर्ष अवधिको सवारीचालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरूपता कायम गर्ने, तथ्यांकहरूलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजु फर्स्योटलाई प्रभावकारी बनाउने, राइड सेयरिङबारे एकरूपता कायम गरी लागू गर्नेलगायतका निर्णय पनि गरेको छ।





