काठमाडाैं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीवरण पेण्डिङमा रहेको बताएको छ । पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी गराउनुभएको हो ।
गाैतमले पार्टीको विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले यो विषय पेण्डिङमा रहेको बताउनुभयो । राष्ट्रपति हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नवीकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित हुने बताउनुभयो ।
स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बताउनुभयो ।
उहाँले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताउनुभयो । अधिकांश नेताहरुले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुनेकुरा गम्भीर भएकाले पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निस्किएको बताउनुभयो ।
तत्काल पार्टी अध्यक्ष बनाएर जानेकुरामा सकारात्मक नरहेको निष्कर्ष पार्टीले निकालेकाे प्रमुख गाैतमले जानकारी दिनुभयाे ।





