काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति तथा व्यवस्थापनका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारी अगामी आर्थिक वर्षको मल आपूर्तिको कार्ययोजना तयार भइसकेको सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयातका लागि टेन्डर आह्वान समेत भइसकेको बताउनुभएकाे हाे ।
मन्त्री अधिकारीले उन्नत बिउ तथा बिउविजनको आपूर्तिका लागि नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभागअन्तर्गतका फर्महरूमार्फत उत्पादन गरिएका बिउहरू कृषक समूह, सहकारी संस्था र निजी कम्पनीमार्फत उपलब्ध गराइँदै आएको समेत बताउनुभयो ।
उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादकत्व वृद्धिको लक्ष्य र कृषकको आत्मनिर्भरताका लागि बजेटका कार्यक्रमहरू प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।





