२०८२,१,३०
सीटीईभीटीले जीपीए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्राप्त गरेको ‘जीपीए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । विगतमा प्रवेश परीक्षा लिएर त्यसैका आधारमा विद्यार्थी भर्ना गर्ने गरेकोमा सीटीईभीटीले अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको जनाएको छ ।
सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जीपीएका आधारमा विद्यार्थी भर्ना गर्ने जानकारी दिनुभयो । अब विद्यार्थीले सीटीईभीटी अन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिन नपर्ने भएको हो । कतिपय पूर्वतयारी कक्षा चलाउनेहरूले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने भन्दै रकम लिएको गुनासो समेत आएको उहाँको भनाइ छ ।
सीटीईभीटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका–२०८२ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।




