२०८१,९,६
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गर्ने काम अन्तिम चरणमा पुगेको छ। मुद्दा रुजुको काम भइरहेको भन्दै सकिएपछि दर्ता हुने अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले थाहा संचार नेटवर्कलाई जानकारी दिए।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आज अभियोजन पेस गरेको हो। सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपा सभापति सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित थप २२ जनासहित ४२ जना विरुद्ध रुपन्देहीमा मुद्दा दर्ता का लागि अदालतमा पठाइएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले थाहा संचार नेटवर्कलाई जानकारी दिए।
उनका अनुसार मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न लागिएको हो। लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ।
सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
सहकारी ठगी प्रकरणमा रविलाई जिल्ला अदालत कास्की र जिल्ला अदालत काठमाडौंले क्रमशस् ६५ लाख र ६० लाख धरौटीमा छाडेका हुन्।