सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

सोलुखुम्बुको सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

पौष १६ मंगलबार
सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने सोलुखुम्बुको लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालनमा आएको छ ।

यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नम्बर–२ सुर्केसम्म १६ करोड रुपैयाँको लागतमा २५ किलोमिटर सडक निर्माण भएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि शुरू भएको थियो ।परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना–सिल्क पावर र दूधकोशी छैटौंसँग साझेदारी गरेको छ । दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ ।

दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नम्बर–२ का अध्यक्ष आङफुर्वा शेर्पाले बताउनुभयो । यसले मालवाहक र अन्य गाडीलाई सहजै सुर्केसम्म पुर्‍याउन सम्भव बनाएको छ ।स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन् ।

मौसमका कारण हवाई उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्याको पनि अब अन्त्य हुने व्यवसायीको धारणा छ । स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);