साउन ११, २०८१ गत बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका चालक मनीषरत्न शाक्यले विमान दुर्घटनामा पर्नुको कारणबारे सामान्य जानकारी दिएका छन् ।
काठमाडौं मेडिकल कलेजमा उपचाररत शाक्यले धावनमार्गबाट केही माथि उडेपछि आफूले जहाज नियन्त्रण गर्न नसक्दा विमान दुर्घटनामा परेको बताएका छन् ।
उक्त अस्पतालकी निर्देशक प्रा डा। मीना थापासँग सामान्य कुराकानी गर्दै उनले करिब १०० फिट जति माथि पुगेपछि आफूले कन्ट्रोल नै गर्न नसकेको बताएका हुन् । त्यसपछि केहीले थिचिएको जस्तो भएको र बाँकी के भयो भन्नेबारे धेरै याद नरहेको बताएका हुन् ।
क्याप्टेन शाक्यलाई दुर्घटना छानबिन आयोगका तर्फबाट एक चिकित्सकले पनि भेटेका थिए । उनलाई मानसिक तनाव पर्ला भनेर अस्पताल प्रशासनले नजिकका आफन्तबाहेकलाई भेट्न अनुमति दिएको छैन ।
दुर्घटनालगत्तै काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा उनको प्राथमिक उपचार गरिएको थियो । त्यसपछि सघन उपचार कक्ष ९ आइसियू मा राखिएका उनलाई बिहीबार साँझबाट क्याबिनमा सारिएको छ ।
अस्पताल निर्देशक प्रा।डा। थापाका अनुसार क्याप्टेन शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको छ । उनको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको छ भने ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन् ।
उक्त विमान विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो ।दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । क्याप्टेन शाक्यबाहेक सबै यात्रुको निधन भएको हो ।