‘अबको नीति, कार्यक्रम र बजेटमा मधेसलाई विशेष व्यवस्था हुन्छ’ | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

‘अबको नीति, कार्यक्रम र बजेटमा मधेसलाई विशेष व्यवस्था हुन्छ’

काठमाडौं,१३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेसका लागि विशेष व्यवस्था गर्ने बताउनुभएको छ । शनिवार धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ४ र सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ५ जोडने कमला नदी पुल निर्माण कार्यको शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले मधेसमा विकास, निर्माणको काममा गति ल्याउन आफँै सो पुलको शिलान्यास कार्यक्रममा उपस्थित भएको पनि बताउनु भयो । मधेस र मधेसी जनताको समृद्धि नभई मुलुकको समृद्धि नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो । त्यस अवसरमा उहाँले मधेसबाट चुनाव लडेर दोस्रो पटक प्रधानमन्त्री भई आफूले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने अवसर प्राप्त गरेकोमा गर्व लाग्ने गरेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले मधेसमा कृषि क्षेत्रको विकासका लागि आवश्यक सिंचाई, बीउबिजन, मल आदिको आवश्यक व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई गर्व छ–मैले मधेसबाट चुनाव जितेर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेँ । र, मधेसी जनताको मत लिएर म त्यो प्रधानमन्त्रीत्वकालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको पहल, त्यसको शुरुवात पहिलो निर्वाचन, त्यो अन्तरगत मधेस पनि, पहाड पनि, हिमाल पनि सबै जुटेर निर्वाचन प्रक्रिया अगाडि बढाउने मैले जिम्मेवारी प्राप्त गरेँ, मलाई गर्व छ । म तपाई मधेसी जनतालाई यतिबेला मैले भनेको थिए–मधेसी जनतासँग मेरो प्रेम छ । मैले जनयुद्धको नेतृत्व पनि मधेशबाटनै मुख्य रुपमा गरेँ । चुनाव पनि लडेँ, दोस्रो पटक प्रधानमन्त्री पनि भए । अहिले मलाई लाग्छ कि मधेसमा विकास, निर्माणले गति लिएन भने, मधेसी जनताको समृद्धि भएन भने नेपालको समृद्धि सम्भव छैन । त्यसकारण आज म तपाईहरुको अगाडि उपस्थित हुनुको उद्देश्य पनि विकास, निर्माणलाई गति दिनु नै हो । अवको नीति, कार्यक्रम र बजेटमा मधेसको निम्ति विशेष व्यवस्था गर्ने विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले सो पुलको निर्माण कार्यमा ढिलाई नगर्न पनि ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । सो पुलको निर्माण कार्यमा निगरानी राख्न पनि उहाँले स्थानीय सरकारलाई समेत आग्रह गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);