काठमाडौं, २२ माघ ||
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग छलफल गर्नुभएको छ । मन्त्री गुरुङले सोमवार कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग अनौपचारिक रुपमा संक्रमणलिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा छलफल गर्नुभएको हो । छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पु¥याउनका लागि सरकारको तर्फबाट भइरहेका कसरतहरुको बारेमा जानकारी गराउनुभएको थियो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य महेश बर्तौलाले मन्त्री गुरुङले प्रश्तुत गर्नुभएको कसरतहरु सकारात्मक रहेको बताउनु भयो । उहाँले आफूहरुले पीडितमैत्री कानून बनाउने कुरामा जोड दिएको पनि बताउनु भयो । उहाँले असहमतिका विषयहरुलाई टुंग्याउने कार्ययोजना ल्याउनेगरी छलफल भएको जानकारी दिनुभयो । यो विषय टुंग्याउनका लागि शिर्ष नेताहरुको तहमा पनि छलफल आवश्यक भएको भन्दै आधारभुत रुपमा एउटा तयारी गरेर अगाडी बढ्ने विषयमा कुरा भएको उहाँले बताउनु भयो ।
छलफल पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कानून, न्याय तथा मानव अधिकार समिति सदस्य सन्तोष परियारले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा असहमतिका बुँदाहरुमाथि छलफल भएको बताउनु भयो । उहाँले सरकारको तर्फबाट मन्त्रीले केही विकल्पहरु प्रश्तुत गर्नुभएको र पीडितमैत्री कानून बनाउने सन्दर्भमा राम्रो छलफल भएको बताउनु भयो । उहाँले विषय नटुंगिएकाले भोलि पनि पुनः छलफल हुने जानकारी दिनुभयो ।