एजेन्सी,३ माघ । श्रीलंका विरुद्ध ३ मध्ये दोस्रो टि –२० क्रिकेटमा जिम्बावेले ४ विकेटको रोमान्चक जित हात पारेको छ ।श्रीलंकाको कोलोम्बोमा जितका लागि १ सय ७४ रनको लक्ष्य जिम्बावेले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।
योसँगै तीन खेलको सिरिजमा जिम्बावेले १–१ को बराबरी गरेको छ । जिम्बावेका ओपनर क्रेग इर्विनले ५४ बलमा ६ चौका र २ छक्कासहित ७० रन बनाए । जितका लागि अन्तिम ६ बलमा आवश्यक २१ रन बनाएर जिम्बाबेले रोमाञ्चक जित हात पारेको हो ।
जिम्बावेको जितका ल्युक जोंग्वे १२ बलमा २ चौका र २ छक्कासहित २५ रनमा नट आउट रहे ।
क्लाइभ माडान्डे ५ बलमा २ छक्कासहित १५ रनमा नट आउट रहे । श्रीलंकाका महेश थिक्सेना र दुश्मन्था चामिराले २–२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । श्रीलंकाका एन्जिलो म्याथ्युज ५१ बलमा ६ चौका र २ छक्कासहित ६६ रनमा नट आउट रहे ।
चरिथ असलंका ३९ बलमा ५ चौका र ३ छक्कासहित ६९ रनमा क्याच आउट भए । एक समय २७ रनमा ४ विकेट गुमाएर संकटमा परेको श्रीलंकालाई पाँचौं विकेटका लागि म्याथ्युज र असलंकाले ७९ बलमा १ सय १८ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका हुन् । जिम्बावेका ब्लेसिङ मुर्जाबानी र ल्यूक जोंगवेले २–२ विकेट लिए । तेस्रो तथा अन्तिम निर्णायक खेल बिहीबार हुनेछ ।