काठमार्डौ, २४ कार्तिक प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मिडिया ट्रायलबाट न्यायाधीश डराउनु नपर्ने बताउनुभएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले मिडिया ट्रायल अनुसन्धानको क्रमदेखि नै देखिने भन्दै मिडिया ट्रायलसँग न्यायाधीश डराउनु नपर्ने बताउनु भएको हो ।
उहाँले आचारसंहीताको विषयमा बारम्बार छलफल हुँदै गरेको बताउँदै अब फेरि नयाँ तरिकाले मिडियासँगको सम्बन्ध र प्रविधिसँगको न्यायपालिकाको सम्बन्धमा नयाँ बहस चलाउनुपर्ने स्थिति आएको उल्लेख गर्नुभयो ।
प्रविधि नभइकन न्यायपालिका चल्न गाह्रो रहेकोभन्दै प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिमैत्री न्यायपालिका नभए काम कारबाही धेरै पछि पर्दै जाने तर्क गर्नुभयो । जुडिसियरीलाई प्रविधिसँग नमिलाउने हो भने न्यायाधीश र न्यायालय आलोच्य भइरहने र कामकारबाहीमा शंका आइरहने प्रधानन्यायाधिश श्रेष्ठको भनाइ छ ।
प्रधानन्यायाधीश श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स एआई अदालतमा प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले एआई अब कुनै न कुनै माध्यमबाट कोर्टमा प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।
उहाँले अदालतमा अनलाइन प्रणालीलाई अघि बढाउनेमा जोड दिनेपनि बताउनु भयो ।०००