एजेन्सी । भारतको मणिपुरमा भइरहेको जातीय हिंसाले सडकदेखि सदनसम्म तात्न थालेको छ ।
सरकारले मणीपुर हिंसा नियन्त्रणका लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले शुक्रबार दुवै सदनका बैठक अवरुद्ध गरेका छन् । विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा दुवै सदनका बैठक आउँदो सोमवारसम्मका लागि स्थगित भएको भारती संचार माध्यमहरुले जनाएका छन् ।
विपक्षी सांसदहरुले इन्डिया फर मणिपुर लेखेका पर्चा हातमा बोकेर संसद् बैठकमा प्रवेश गर्दै सरकारविरुद्ध नारा लगाउदै संसद अबरोध गरेका हुन् । उनीहरुले मणिपुरको अवस्था र त्यहाँको स्थिति नियन्त्रणका लागि भइरहेका प्रयासबारेमा प्रधानमन्त्री नरेन्द्र मोदी संसद् बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन् ।
मणिपुरमा चलिरहेको जातीय हिंसामा एक सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । ६० हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । पछिल्लो समय महिलामाथि दुर्व्यवहारका घटना बढेपछि अन्तर्राष्ट्रिय चासो पनि बढेको छ । साथै भारतमा पनि यससम्बन्धमा सरकारको आलोचना गर्दै सामाजिक संजालमा मणीपुर हिंसाका घटनाहरु धमाधम सार्वजनिक हुन थालेका छन् ।