काठमाडौं, ११ जेठ । तत्कालिन केपी ओली शर्मा नेतृत्वको सरकाले २०७८ मा बजेटमार्फत व्यापार घाटा कम गर्न भन्दै ढुंगा गिट्टी र बालुवा निकासी गर्ने घोषणा गर्यो । त्यो बेलाको प्रतिपक्षी तथा हालको सत्तारुढ गठबन्धनले आपत्ति जनायो । ओली सरकारको योजनालाई राष्ट्रघाति भन्ने प्रचण्डले अहिले आफू प्रधानमन्त्री हुँदा त्यही योजनालाई सरकारको नीति तथा कार्यक्रममार्फत अघि सारेका छन् ।
सरकारको नीति तथा कार्यक्रमको घोषणा अनुसार काम भए अबको एक वर्षभित्र भारतमा ढुंगा गिट्टी बालुवाको निकासीका लागि बजारको खोजी हुनेछ । त्यसपछि भारतका सीमावर्ती क्षेत्रका सडक, रेल, विमानस्थलसहित विभिन्न निर्माणाधीन ठूला परियोजनाका लागि नेपालका नदी र पहाडबाट ढुंगा, गिट्टी र बालुवा निजी कम्पनीहरुमार्फत निकासा हुनेछन् ।
सरकारको यही नीतिको विरोधमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर चुरेमा क्रसर चलाएर भारतमा ढुंगा बेच्न खोजिएको भन्दै आलोचना गरे । रोचक त यो छ कि ओली आफै प्रधानमन्त्रीहुँदा बजेटमार्फत यही योजना अघि सारेका थिए । माओवादी प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेले ढुंगागिट्टी भारत निकासी गर्न खोजेको भन्दै विरोधमा वक्तव्य निकाले । जसमा ‘बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको, सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय भनिएको थियो । फरक यतिमात्र त्यतिबेला सत्तामा ओली थिए भने प्रचण्ड, देउवा र नेपाल विपक्षमा । चुरे संरक्षण र प्राकृतिक स्रोतको उपयोगको विषय त उठ्छ तर यसलाई नितान्त राजनीतिक विषय बनाइने गरिन्छ ।
देशको स्रोत कसरी परिचालन गर्ने भन्ने स्पष्ट नीति आवश्यक छ । यसको व्यवसायिक प्रयोग गर्दा पर्यावरणमा पनि जोड दिनुपर्छ । यसपटक निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघले औपचारिक रुपमै पर्यावरण जोगाउँदै ढुंगा गिट्टी बालुवाको निर्यात खोलेमा देशले २ अर्ब आम्दानी गर्न सक्ने निष्कर्ष निकालेको छ । संघले लिखित रुपमा अर्थ मन्त्रालयलाई लेखेर दिएको छ यो विषयमा
देशको प्राकृतिक स्रोतको सही सदुपयोग हुनुपर्छ । तर, सत्तामा पुग्दा एकथोक र विपक्षमा पुगेपछि अर्कोथोक बोल्ने, आफ्नै विगतको निर्णय बिर्सने परिपाठीले देशले मूल्य चुकाइरहेको छ ।