काठमाडौं । अभिनेत्री पल्पसा डंगोलले आफ्नै स्वर, अभिनय र निर्देशनमा ‘तिमी जाने भट्टीतिर’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा आफ्नो जन्मदिनको अवसर पारेर तिमी जाने भट्टीतिर बोलको गीत सार्वजनिक गर्नुभएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले श्रीमानलाई सुधार्न के गर्ने भन्ने सुझावसहितको गीत रहेको बताउनु भयो । कार्यक्रममा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले डंगोललाई जन्मदिनको शुभकामना दिँदै मिर्गौला महिला मानिसले बढी दान गरेको भन्दै पुरुषहरुले पनि महिला जसरी नै अंग दान गर्न सिक्नुपर्ने बताउनु भयो ।
उहाँले गीत एकदमै रमाइलो रहेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा अग्रज कलाकार किरण केसीले गीतमा सामाजिक, कुरीति र कुसंस्कारलाई चिर्ने काम गरेको बताउनु भयो । कार्यक्रममा कलाकार केदार घिमिरेले जन्मदिनको शुभकामना व्यक्त गर्दै पल्पसाको शाहस र उर्जा देखेर अरुमा आँट आउने गरी काम गर्नुभएको भन्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा अभिनेत्री दीपाश्री निरौलाले कलाकारहरु भावुक हुने बताउनु भयो । उहाँले भावुक हुनेमा पहिलो नम्बरमा मदनकृष्ण श्रेष्ठ रहेको बताउनु भयो । कलाकारहरु मनमा लागेको कुरा व्यक्त गर्ने र भावुकता पोखिहाल्ने किसिमको बताउँदै जन्मदिनको शुभकामना दिनुभयो ।
कार्यक्रममा सहभागी अन्य कलाकारहरुले पनि अभिनेत्री डंगोलको जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।




