काठमाडौं । “भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोसा”नारासहित बुटवलस्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.मा आज भूतपूर्व सैनिक सम्मेलन–२०७९ सम्पन्न भएको छ ।
सम्मेलनमा गुल्मी, अर्घाखाँची, कपिलबस्तु, पाल्पा, परासी, रुपन्देही र नवलपुर गरी जम्मा ७ (सात) जिल्लाहरुमा बसोबास गर्ने ३९९८ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागिता रहेको थियो . सम्मेलनको समुद्घाटन पश्चात सम्बोधन गर्दै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले भू.पू. सैनिकहरु अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षा कवच एवं सेनालाई समाजसँग जोड्ने महत्त्वपूर्ण सेतुको रुपमा रहंदै आएको कुरा बताउनु भयो।
उहांले सेनाको संस्थागत मूल्य र मान्यतालाई अनुशरण गर्दै सैनिक सेवाको दौरान आर्जित ज्ञान, शीप र कलाको प्रयोग गरी आ–आफ्नो क्षेत्रबाट राष्ट्र सेवामा समर्पित रहँदै आउनु भएका अवकाश प्राप्त सैनिक व्यक्तिहरुले प्रदर्शन गर्ने अनुशासन र सेवाभावले समग्र नेपाली सेनाको छवि निर्धारण गर्ने बताउनु भयो ।
सम्बोधनकै क्रममा प्रधान सेनापतिले नेपाली सेनाका सकल दर्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै दीर्घकालिन प्रभाव पार्ने सेवा सुविधा विस्तार गरी अवकाश प्राप्त सैनिकहरुको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन प्रयत्नशील रहेको बताउनु भयो । सोही क्रममा उहाँले वीरगति प्राप्त सकलदर्जाका सन्तती र एकल महिलालाई सदैव महत्वका साथ हेरिँदै आएको र यसको निरन्तरता स्वरुप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरु संचालन भईरहेको एवं वीरगति प्राप्त सकलदर्जाका सन्ततीलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्नशील रहेको बताउनु भयो ।