काठमाडौं, ३ फागुन । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको आज सुनुवाइ नहुने देखिएको छ । सर्वोच्चले आजको लागि २० वटा मुद्दापछि मात्रै सो मुद्दा सुनुवाइका लागि पालो तोकेसँगै आज सुनुवाई हुने सम्भावना टरेको हो ।
गत साउन ११ गते पेसी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएकोमा आज सोही आदेशअनुसार सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको लागि पेशी तोकिएको थियो ।
ओलीले प्रक्रिया नपुर्याई संवैधानिक बैठक बोलाएको, र पछि अध्यादेशको आधारमा बैठक डाकेर संवैधानिक पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले अदालतमा रिट दर्ता गरेका थिए । ओली सरकारले प्रक्रिया मिचेर नाम सिफारिस गरेको भन्दै सो नियुक्ति खारेजी र बदर गर्नुपर्ने माग गरिएको छ ।