काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुबीच अबको लडाईं राष्ट्रपतिका लागि भएको बताउनुभएको छ ।
शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचनका विषयमा बोल्दै उहाँले दललहरुले कम्फर्टेबल राष्ट्रपति खोजेको आरोप लगाउनुभयो ।
नेपालमा दलहरु संसदीय प्रणालीको बखान गर्न नथाक्ने तर त्यसको नियम नमान्ने समस्या देखिएको अध्यक्ष केसीले भनाइ थियो । उपसभामुखको प्रसंसा गर्ने दलहरुले सभामुखमा महिलालाई किन उम्मेदवार नबनाएको भन्दै उहाँले प्रश्न गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्नुभयो । कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको रुपमा प्रस्तुत गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता नलिएसम्म कांग्रेसलाई प्रमुख विपक्षी दल भन्न नमिल्ने उहाँको भनाइ थियो ।
१० वटा दलले सरकारलाई समर्थन गरेकाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग छ ।





