काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमणमा संलग्न रहेका बालकृष्ण बस्नेतले स्पष्टिकरण बुझाएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसमेत रहेका घिमिरेमाथि साउन १ गते सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले आक्रमण गरेका थिए ।
आक्रमणमा संलग्न रहेका क्षेत्रीय सभापति बस्नेतलाई मात्रै स्पष्टिकरण सोधिएको थियो । बस्नेतले सोमबार नै स्पष्टिकरण बुझाईसकेका छन् । कांग्रेसको अनुशासन समितिले बैठक बसेर छानविन पछि आवश्यक निर्णय गर्ने बताइएको छ ।
आक्रमणको घटनापश्चात् कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेमाथि आक्रमण गर्नेलाई स्पष्टिकरण सोधेर कारबाही गर्न निर्देशन दिएका थिए ।
बस्नेतले स्पष्टिकरणमा उल्लेख गरेका कुराहरुका विषयमा भने खुलाइएको छैन ।
क्रियाशील सदस्यता वितरण तथा नवीकरणबारे केन्द्रीय सदस्य प्रदीप पौडेल र घिमिरेले बागमती र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला तथा क्षेत्रीय कार्यसमितिका विवरण अध्ययन गरेका थिए । पौडेल र घिमिरेका कारण नयाँ क्रियाशील सदस्य थप नभएको भन्दै क्षेत्रीय सभापति बस्नेतसहित युवाहरूले घिमिरेमाथि आक्रमण गरेका थिए ।
विभिन्न जिल्लाहरुमा कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै समाधान हुन सकेको छैन । सिन्धुपाल्चोकमा मात्रै करिब एक हजार दुई सय क्रियाशील सदस्यता विवाद छ।