काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवले गर्ने निर्णय अमान्य हुने जनाएको छ । अध्यक्ष ठाकुरले आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गतेका लागि तय गरिएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएको, तर अर्को पक्षले राखेको बैठकले गरेका निर्णय मान्न नसकिने जनाएका हो।
अध्यक्ष ठाकुरले विज्ञप्तिमा भनेका छन, ‘जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।
’पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गर्छौँ भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका गतिविधि गरेको भन्दै जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले चार नेतामाथि कारबाही समेत गर्ने निर्णय गरेको छ ।
बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया अघि बढाइने निर्णय गरेको हो । जसपा र्दु धु्रवमा विभाजन भएसंगै पार्टी फुटको संघारमा पुगेको छ ।