काठमाडौँ, २६ असोज । संसदको सार्वजनिक लेखा समितिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम चाालु आर्थिक वर्षभित्रै सक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहिबार बसेको बैठकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै तोकिएको मितिमा सम्पन्न हुनेगरी काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले आयोजना निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सचेत गराएको छ ।
समितिले निर्माणाधिन आयोजनाको जग्गाको मुआब्जा वितरणको काममा देखिएको समस्या समाधान हुनेगरी आवश्यक नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा आयोजना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एशिएशनले कामै नगरेको आयोजना प्रमुख ओम शर्माले समितिलाई जानकारी गराउनु भएको थियो ।
भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल चालू आर्थिक वर्ष भित्रै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको आयोजना हो ।