काठमाडौं, २ फागुन । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेसँगै निर्वाचन आयोगले छलफलका लागि आज सरकार र राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ । आचार संहितामा उम्मेदवार तथा राजनीतिक दलको सदस्यको निजी जीवनलाई असर पर्ने गरी आलोचना गर्न नपाइले उल्लेख छ ।
आचार संहिता लागू भएपछि सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोतसाधन र सम्पत्तिमा कसैको पक्ष र विपक्षमा हुने गरी प्रयोग गर्न र गराउन नपाइने, मतदातालाई नगद वा जिन्सी वितरण गर्न, भोजभतेर गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने र कुनै मठ, मन्दिर, गुम्बा मस्जिद, चर्च वा कुनै धार्मिकस्थल, सार्वजनिक उद्यान प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न वा गराउन पाइँदैन ।
त्यस्तै, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित कुनै पनि सामग्री उत्पादन र विक्रि वितरण गर्न नपाईले कुरा पनि आचारसंहितामा समेटिएको छ ।
उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणाम घोषणा नभएसम्म उम्मेदवार तथा राजनीतिक दलको मत परिणामबारे मत सर्वेक्षण वा सर्वेक्षणको परिणाम घोषणा गर्न एवं प्रकाशन गर्न नहुने लगायतका विषय उल्लेख गरिएको छ ।
सबै दलसँगको छलफल सकिएपछि आयोगले फागुन दोस्रो हप्ताबाट आचारसंहिता लागु गर्ने तयारी गरेको छ ।