जुम्ला, २० असोज । जुम्लाको चन्दननाथ मन्दिरबाट चोरिएका दुई मूर्ति फेला परेका छ ।
२०७३ मंसिर ११ गते राती हराएका मूर्ति सोमबार फेला परेका हुन् । चोरी भएका दर्जनौ बहुमूल्य मूर्तिमध्ये प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो ।
मूर्तिसँगै उक्त घटनामा संलग्न तीन जना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका १० निवासी ३२ वर्षीय सुशील विष्ट, तातोपानी गाउँपालिका ८ घर भई हाल चन्दननाथ नगरपालिका १० मा बस्ने २८ वर्षका जयलाल थापा र चन्दननाथ नगरपालिका १० कै वर्ष २३ का सुदीप रावल रहेका छन् ।
पक्राउ गरिएका तीनै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालिएको छ । २०७३ साल मंसिर ११ गते राती मूर्ति चोरी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मासहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले समेत जुम्ला पुगेको थियो ।