काठमाडौं, ८ साउन । बिहीबार नेपालमा १ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमित उपचाररत रहेका छन् । बिहीबार १ सय ५६ जना गरी अहिलेसम्म १२ हजार ८ सय ४० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । अहिले देशभरीका क्वारेन्टीनहरुमा २० हजार ९८ जना रहेका छन् ।
त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको साउन ७ गते मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।