एजेन्सी, ४ वैशाख । दक्षिण कोरियाको संसदीय निर्वाचनमा राष्ट्रपति मुन जे–इनको पार्टीले जित हासिल गरेको छ । मुनको प्रजातान्त्रिक पार्टीले कुल ३०० सिटका लागि भएको निर्वाचनमा १ सय ६३ सिटमा जित हासिल गर्दे स्पष्ट बहुमत हासिल गरेको हो ।
यसैगरी उक्त पार्टीलाई समर्थन गर्ने द प्लेटफर्म पार्टीले १७ सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । यसले गर्दा संसदमा राष्ट्रपतिको पार्टीको पक्षमा १८० सिट पुग्नेछ ।
दक्षिण कोरियाले कोरोना महामारीकाबीच नै पूर्व निर्धारित समयमा निर्वाचन गरेको हो । निर्वाचन स्थलमा सुरक्षा तथा सामाजिक दुरी कायम गरेर मत हाल्ने व्यवस्था मिलाइएको थियो ।
कुल ३५ वटा दलले प्रतिष्पर्धा गरेका यस निर्वाचनमा डेमोक्रेटिक पार्टी र विपक्षी युनाइटेड फ्यूचर पार्टीबीच मुख्य प्रतिष्पर्धा थियो । युनाइटेड पार्टी र उसको सहयोगी दलले १०३ सिट ल्याउने अनुमान गरिएको छ ।
मुनको जितले कोरोना भाइरस नियन्त्रणमा उनको सरकारले अबलम्बन गरेको नीतिमाथि जनताको समर्थनका रुपमा हेरिएको छ । मुनको पार्टीको यो सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हो ।