काठमाडाैं, ३० चैत । लकडाउनका कारण देशभर रगतको अभाव भएको छ । जसले गर्दा नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामी र सुत्केरी समस्यामा पर्न थालेका छन् ।चिकित्सकले उपचारका लागि आवश्यक रगत जुटाउन बिरामीका आफन्तलाई भन्ने गरेका छन्, तर व्यवस्थापन कठिन छ । ब्लडबैंकमै रगत अभाव हुँदा उनीहरू रगतको खोजीमा भौँतारिने गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब आठ सय युनिट रगत खपत हुन्थ्यो । लकडाउनयता करिब डेढ सय युनिट मात्रै खपत भइरहेको छ । तर, त्यही पनि सहज व्यवस्थापन हुन सकेको छैन् । ‘लकडाउन र कोरोनाको त्रासका कारण रगत संकलन ठप्प छ, त्यसैले रगतको अभाव भएको हो,’ रेडक्रसले सञ्चालन गरेको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका उपनिर्देशक डा. प्रकाशकुमार यादवले भने ।
केन्द्रीय रक्तसञ्चार केन्द्रमा मात्रै दैनिक तीन सय युनिट रगत संकलन हुने गरेको थियो । जुन अहिले ६० युनिटमा झरेको छ । लकडाउनपछि छिटफुटबाहेक रक्तदानका कार्यक्रम नै सञ्चालन भएका छैनन् । रक्तदान कार्यक्रम राखे पनि रक्तदाता आउँदैनन् । पहिले रक्तदाताहरूको भीडभाड हुने रक्तसञ्चार केन्द्रहरू अहिले सुनसान बनेका छन् ।
‘अन्य समयमा सर्वसाधारण रक्तदान गर्न पनि लाइन बस्थे, तर अहिले फोन गरेर बोलाउँदासमेत रक्तदान गर्न मान्दैनन्,’ एक स्वास्थ्यकर्मीले सुनाए । सरकारले अत्यावश्यकबाहेकका शल्यक्रिया रोक्न निर्देशन दिएको छ । जसले गर्दा अस्पतालहरूमा भीड घटेको छ । तैपनि गम्भीर प्रकृतिका बिरामीलाई समेत रक्तसञ्चार केन्द्रहरूले रगत उपलब्ध गराउन सकेका छैनन् ।
‘नियमित डायलाइसिस तथा क्यान्सर, प्रसूतिलगायतका केही अप्रेसनका लागि रगतको माग छ, तर मागबमोजिम उपलब्ध गराउन हम्मेहम्मे परेको छ,’ डा. यादवले भने । सामान्य अवस्थामै जस्तो रगतको माग भए अहिले हाहाकार मच्चिने अवस्था रहेको उनले बताए । अत्यावश्यक परेका बिरामीलाई अस्पतालमै रक्तदाता बोलाएर पनि रगतको व्यवस्थापन गर्ने काम भइरहेको यादवको भनाइ छ । नयाँ पत्रिका दैनिकले प्रकाश धौलाकोटीले समाचार लेखेका छन् ।