प्रहरी, एम्बुलेन्सचालक र डाक्टरले समेत छुन नमान्दा २८ वर्षीया युवतीको दुखान्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

प्रहरी, एम्बुलेन्सचालक र डाक्टरले समेत छुन नमान्दा २८ वर्षीया युवतीको दुखान्त

swarswati

काठमाडाैं, २५ चैत । म मात्र सरस्वती, तर उनले विद्यालय गएर ज्ञान लिन पाइनन् । किनकि घरमा ‘लक्ष्मी’कै अभाव थियो । १४ वर्षमै बिहे भयो, १५ वर्षमा उनी आमा भइन् । छोरी दुई वर्षकी हुँदा दोस्रो सन्तानको रूपमा छोराको जन्म भयो ।

विपन्न परिवारकी छोरी उनी आफ्ना सन्तानलाई भने सुखी देख्न चाहन्थिन् । तर, श्रीमान् बेरोजगार थिए, घरको गुजारा चलाउन गाह्रो थियो । त्यसैले ऋण गरेर तीन वर्षअघि उनी वैदेशिक रोजगारीमा गइन् ।

कुवेतमा घरको भाँडा माझ्ने मात्र होइन, शेखका छोराछोरीको दिसा धोइदिने काम पनि उनैले गर्थिन् । दिनदिनै धोएर शेखका छोराछोरीलाई चमकदार लुगा लगाइदिन्थिन्, फकाई–फकाई खाना खुवाउँथिन् । यता गाउँमा भने उनका छोराछोरी नांगै–भोकै कुदिरहेका हुन्थे ।

कमाएको पैसा उनले श्रीमान्लाई पठाइरहिन् । गाउँको ऋण तिर्न भनिन्, छोराछोरीलाई दुईछाक मिठो खुवाउन भनिन् । पैसा बचत गर्न पनि श्रीमान्लाई अनुरोध गरिन् ।

दुई वर्ष कुवेतमा पसिना बगाएर उनी स्वदेश आइन् । तर, श्रीमान्ले न ऋण तिरेका थिए, न बचत गरेका थिए । छोराछोरीले झन् दुःख पाएका थिए । यो विषयले घरमा बेमेल भयो । सरस्वतीले दुई लाख रुपैयाँ नगद लिएर आएकी थिइन् । तर, श्रीमान्सँग झगडा हुने र मिल्ने क्रम चलिरहँदा त्यो पैसा पनि सकियो ।

एकातिर पैसा घट्दै गयो, अर्कोतिर श्रीमान्को यातना बढ्दै गयो । मदिरा खाएर श्रीमान्ले उनलाई बारम्बार कुट्न थाले । गत जेठमा त श्रीमान्ले यसरी कुटे, सरस्वती बेहोस भइन् । उनलाई अस्पताल लग्न छाडेर बाह्रबिसेको पात्लेसिंह जंगलमा फालेर श्रीमान् रमेश फरार भए ।

रक्ताम्मे सरस्वतीलाई गाउँलेले देखे । माइतीलाई खबर भयो । उनलाई उद्धार गरेर धुलिखेल अस्पताल ल्याइयो । अनेक प्रयत्न गर्दा पनि १९ दिनसम्म उनको होस आएन । दिदी चमेलीले नयाँ पत्रिकासँग भनिन्, ‘हामीले त माया मारेका थियौँ, तर २०औं दिनमा उसको होस आयो । ऊ बाँची, किनकि उसले दुःख पाउन अझै बाँकी रहेछ ।’

सरस्वतीको होस फर्कियो, तर मस्तिष्कमा गम्भीर चोट लागेकाले उनको बोली फर्किएको थिएन । शरीर अशक्त थियो । गाउँ फर्किएर गरिखान सक्ने स्थिति थिएन । त्यसमाथि फरार श्रीमान् गाउँ फर्किए ज्यान जोखिममा हुन सक्थ्यो । त्यसैले उनलाई काठमाडौंका आश्रममा राख्ने तयारी भयो ।

काठमाडौंस्थित हिमालयन हाउसले उनलाई स्विकार्‍यो । दिदी चमेली र हिमालयनकी रिमा सापकोटाले सरस्वतीलाई काठमाडौं लिएर आए । तर, आश्रममा भिडभाड थियो । उनको हेरचाह गर्न गाह्रो भयो । त्यसैले रिमाले आशीर्वाद वृद्धाश्रममा सम्पर्क गरिन् । आशीर्वादकी लीला गुरुङले सरस्वतीलाई आश्रय दिइन् । नयाँ पत्रिका दैनिकमा टेकराज थामीले समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);