काठमाडौं, ६ चैत । बागमती गाउँपालिका–३ का अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले प्रहरीले ज्यादती गरेको भन्दै अनिश्चितकालीन बन्दको घोषणा गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । मंगलबार विज्ञप्ति जारी गर्दै उनले राजनीतिक आडमा प्रशासनले आफूमाथि दमन गरेको बताए ।
निर्माणाधीन कान्ति लोकपथमा स्थानीय तहले सञ्चालनमा ल्याएको खानी, क्रसर तथा बालुवा, वासिङ सेन्टरले असर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा गुनासो आएको थियो । कान्तिलोकपथका आयोजना प्रमुखले कान्तिलोकपथका कतिपय ठाउँ भासिने अवस्थामा रहेकाले त्यहाँ सञ्चालित वासिङ तथा खानी बन्द गर्न माग गरेका थिए । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई उक्त क्षेत्रमा खटाएको थियो ।
प्रशासन तथा प्रहरीले कानुनसंगत काम नगर्नेलाई नियन्त्रण गर्ने अडान गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख भागीरथ पाण्डेयले भने, ‘अवैध क्रसर, वासिङ सेन्टरले कान्ति लोकपथमा नोक्सान पु¥याएको भन्दै काम रोक्न माग गरेपछि प्रहरी पठाएको हो ।’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले कानुनसंगत काम नगर्नेलाई प्रहरीले रोक लगाउने बताए । गैरकानुनी काम गरेको भेटिए कारवाही गर्न सकिने तर कानुनसंगत छन् भने मात्र चल्न दिने उनले जनाए । वडाध्यक्षले भने आरोप लगाउनुको कुनै सत्यता नभएको दाबी गरे ।
उनले भने, ‘प्रहरीले बन्दुक बोकेको भरमा गोली ठोक्छु भन्यो भन्नु निराधार आरोप हो ।’ राईले यस विषयमा गाउँपालिकाको अध्यक्ष, सांसदहरुसँग बसेर छलफल भएको पनि बताए । उक्त क्षेत्रका माननीय, स्थानीय तहका जनप्रतिनिधि सबैको छलफलमा खानी, क्रसर चल्न नदिने निर्णय भएको थियो ।