काठमाडौं, २७ फागुन । भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ । मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्च स्तरिय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले भारतबाट आयात बन्द नभएको बताएको हो ।
औषधिजन्य वस्तु बाहेक अन्य वस्तुहरु आयातमा कुनै समस्या नरहेको अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । कोरोना भाइरस संक्रमणको सन्त्रास फैलिएको सन्दर्भमा अत्यावश्यक वस्तुको सहज उपलब्धताका लागि नीजि क्षेत्रसँगको सहकार्यलाई अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।
आवश्यकता भन्दा बढी मात्रामा औषधि र ग्यास भण्डारण नगर्न आग्रह
मन्त्री खतिवडाले आवश्यकता भन्दा बढी मात्रामा औषधि र ग्यास भण्डारण नगर्न पनि आग्रह गर्नुभएको छ । रसुवागढी र तातोपानी नाकामा रोकिएका सामानहरु सुरक्षीत रुपमा नेपाल ल्याउन व्यवसायीहरुले सुझाव दिएको उल्लेख गर्दै मन्त्री खतिवडाले अनावश्यक रुपमा सामान किनेर भण्डारण नगर्न उपभोक्तालाई सचेत गराउने विषयमा पनि बैठकमा छलफल भएको बताउनुभयो ।
औषधि व्यवसायीहरुले ५, ६ महिनाका लागि औषधि स्टक रहेको जानकारी दिएको पनि उहाँले बताउनुभएको छ । ६ महिनासम्मका लागि खाद्यान्न र ३ महिना पुग्ने पेट्रोलियम पदार्थ स्टक रहेको उहाँले बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले मास्कको अभावलाई परिपूर्ति गर्न नीजि क्षेत्रले प्रतिदिन १५ हजारका दरले मास्क उत्पादन गर्ने बताउनुभयो ।
सबै होलसेल पसल र प्रत्येक जिल्लामा पु¥याउने लक्ष्यसहित मास्क उत्पादन हुने जानकारी उहाँले दिनुभयो । विमानस्थलमा आउने सबैलाई एक एक वटा मास्क निःशूल्क दिने प्रतिवद्धता समेत नीजि क्षेत्रले गरेको छ । व्यवसायीहरुले बढीमा ७ रुपैयाँमा उपलब्ध हुनेगरी मास्क उपलब्ध गराउने प्रतिवद्धता गरेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा अर्थ, स्वास्थ्य, उद्योग वणिज्य तथा आपूर्ति र संस्कृति पर्यटन तथा नागरिय उड्डयनमन्त्रका मन्त्रीहरु लगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल परिसंघका पदाधिकारी तथा औषधि उत्पादक संघका पदाधिकारी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




