काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका विचौलियासँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि कांग्रेसले बास्कोटालाई बर्खास्त गरी अनुसन्धान अगाडी बढाउन माग गरेको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भूसालले बास्कोटाको बर्खास्तीसँगै कारवाही प्रकृया पछि अगाडी बढाउन माग गर्नुभयो । उहाँले उक्त घटनामा प्रधानमन्त्री स्वयमले संसदमा आएर जवाफ दिनुपर्ने माग समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बर्खास्त गरेरमात्रै यो विषयले विश्राम लिँदैन । कांग्रेस बर्खास्तीले मात्रै चुप बस्दैन् । यो विषयमा सत्यतथ्य कुराहरु जानकारी गराउन पनि माग गर्न चाहान्छ । प्रधानमन्त्रीले सबैले सुन्ने गरी संसदमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’
कांग्रेसले बालुवाटार प्रकरणमा जग्गा फिर्ता गरेकाले कारवाही नभएको भन्दै सञ्चारमन्त्रीले पनि राजीनामा दिएका कारण कारवाही हुँदैन भन्न नपाइने बताएको छ ।
कांग्रेसले आफ्ना मागहरु पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएकाले नियमित कारवाही अगाडी बढाउन माग गरेपनि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेमात्रै सुरु भएको थियो ।