सेक्युरिटी प्रेस खरीद प्रक्रिया रोक्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

सेक्युरिटी प्रेस खरीद प्रक्रिया रोक्न सरकारलाई निर्देशन

lekha samiti-security press

काठमाडौं, ८ फागुन । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पुर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको विहिबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसंगको छलफलपछि तत्कालका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनाको काम रोक्न सरकारलाई निर्देशन दिएको हो ।

सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि सरकारले गरेको जिटुजि प्रस्ताव प्रतिष्पर्धात्मक नभएको,लागत अनुमान यथार्थ नभएको, स्वीस कम्पनीको प्रस्तावलाई वेवास्ता गरिएको, कम्पनीहरुको प्रस्तावित मूल्यमा ठूलो भिन्नता भएको भन्दै समितिले त्यसबारेमा गहन अध्ययन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

समितिले यस विषयमा थप अध्ययन गरेर निर्णयमा पुग्न सेक्युरिटी प्रिन्टिङ स्थापना सम्बन्धी प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिएको समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

साथै बैठकले सेक्युरिटी प्रिन्टिङ स्थापनाको विषयलाई लिएर सामाजिक सञ्जालमा सांसद र सिंगो समितिको प्रतिष्ठा र चरित्रमा आँच पुरयाउने काम भएको भन्दै त्यसबारे पनि उपसमिति बनाई छानविन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।