काठमाडौं, १९ माघ । सत्तारुढ नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वय र महासचिवले जवाफ दिने कार्यतालिका रहेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले समूहगत रूपमा उठाएका प्रश्नको आज नेतृत्वले जवाफ दिने भएको हो ।
शुक्रबार र शनिबारको बैठकमा पन्ध्र समूहका टोली नेताले समूहगत छलफलको निस्कर्ष पेश गरेपछि नेतृत्वले आज जवाफ दिने कार्यतालिका रहेको छ । जवाफ दिनुअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ र सचिवालयले निकाल्ने निष्कर्षका आधारमा बैठकमा नेतृत्वले जवाफ दिने बताइएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने र विधानका विषयमा उठेका प्रश्नको महासचिव विष्णु पौडेलले जवाफ दिने बताइएको छ ।
केन्द्रीय कमिटीमा नेताहरूको जीवनशैली विलासी बनेको, पार्टी र नेतामा भ्रष्ट आचरण मौलाएको, पार्टीमा नेतृत्वले नै गुटको नेतृत्व गरेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको जस्ता विषय उठेका छन् ।