काठमाडौं, २८ पुस । गिट्टीबालुवाको अबैध उत्खनन् बिरुद्ध सरकारले अध्ययन थाल्ने भएको छ । धनुषामा क्रसर व्यवसायीले दिलिप महतोको टिपरले किचेर हत्या गरेको घटना सार्वजनिक भएपछि सरकारले चासो देखाएको हो ।
हत्याको विरोधमा धनुषादेखि काठमाडौंका सडक र संसदमा समेत आवाज उठ्न थालेको छ । प्रहरीले हत्याको आशंकामा केही अभियुक्तलाई प्रक्राउ गरी सार्वजनिक गरिरहेकै बेला अहिले विभिन्न दलका भातृसंगठन, नेताहरुले घटनाको सुक्ष्म अनुसन्धान गरी कारबाही गर्न सरकारलाई दवाव दिएका छन् ।
विगत ५ वर्षदेखि गिट्टीबालुवाको अवैध उत्खनन बिरुद्ध सामाजिक रुपमै अभियान चलाउँदै आएका थिए सलार्हीका दिलिप महतोले । यो अभियानबाटै दिलिप क्रसर उधोगीहरुको आँखाको तारो बन्न पुगे । सुरुमा क्रसर उद्योगीहरुले दिलिपका बुवालाई छोराको ज्यान मार्ने धम्की दिने गरेका थिए ।
तर दिलिपले धम्कीको प्रवाह नगरी अवैध उत्खनन् बिरुद्धको अभियान जारी राखे । शुक्रवार पनी खोलामा उत्खनन् भइरहेको थाहा पाएपछि टिपर समात्न गएका दिलीपलाई क्रसर व्यवसायीको समुहले फलामको लिभरले दाहिने कोखमा घोची घाइते पारे । त्यसछि खोलामा सुताएर टिपरले किची हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।
यस घटनाबाट क्रसर उद्योगीहरुले गलतरुपमा अवैध धन्दा गरिरहेको प्रमाणीत गरेको छ । अबैध उत्खनन् गर्नेहरु दिलिपको अभियानबाट तर्सेको सजिलै देखिन्छ । तर त्यसरी गैरकानुनी काम हुँदा पहिला कुनै कारवाही भएको थिएन ।
बिभत्स रुपमा भएको दिलिपको हत्यामा सरकार गम्भीररुपमा नलागे न्याय नदिए सडक सघर्षमा जाने युवा तथा बिद्यार्थी नेताहरुको चेतावनी छ । सत्तापक्षका एक जना सांसद रघुवीर महासेठले त दिलिपलाई सहिद घोषणा गर्न नै माग गर्नु भयो ।
मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा २ मा कसैले कसैलाई नियतपुर्वक ज्यान मार्न वा ज्यान मार्ने गरी काम गरे जन्मकैद हुने ब्यवस्था छ ।
दिलिपका पीडित परिवारले शनिवार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा प्रहरीले क्रसर उद्योग सञ्चालक विपिन महतो सहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
दुई जनालाई शुक्रबार नै नियन्त्रणमा लिएको धनुषा प्रहरीले शनिबार फेरी थप दुई जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।