तेजना पण्डित
काठमाडौं, ३ पुस । प्रतिनिधि सभामा नयाँ सदस्यका रुपमा विद्या भट्टराई प्रवेश गर्नु भएको छ । कास्की क्षेत्र नं. २ मा भएको उपनिर्वाचनबाट भारी मतले विजयी भइ भट्टराईको प्रवेश भएको हो ।
विद्यार्थी राजनीतिमा सकृय रहेपनि विवाह पश्चात राजनीतिबाट टाढा रहनु भएकी भट्टराईको श्रीमान रवीन्द्र अधिकारीको मृत्यु पश्चात राजनीतिमा पुनरागमन गर्नु भएको हो । नेपाली राजनीतिमा धेरै उदाहरण देखिन्छ, जहाँ श्रीमानको मृत्युपछि श्रीमती राजनीतिमा आएको ।
विगतमा विद्यार्थी राजनीतिको केन्द्रीय नेतृत्वमै सकृय रहेपनि पछिल्लो समय बिद्या भट्टराई राजनीतिबाट टाढा रही प्राध्यापन पेशामा आबद्ध हुनुहुन्थ्यो । त्यस अघि गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्थ्यो ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उहाँको नाम राजनीतिमा एकाएक चर्चामा आयो । अधिकारीको निर्वाचन क्षेत्र कास्की २ बाट उप निर्वाचनमा निर्वाचित भई बिद्या भट्टराइले प्रतिनीधिसभा सदस्य पदको सपथ लिनु भएको छ ।
विद्या भट्टराई त एक प्रतिनिधि पात्र महिला नेतृ हुनुहुन्छ । जो श्रीमानको मृत्यु पश्चात त्यही क्षेत्रबाट उम्मेदवार बनी संसद भवनमा प्रवेश गर्ने ।
भट्टराई जस्तै थुप्रै महिला नेतृ हुनुहुन्छ जुन आफ्ना श्रीमानको निधन पश्चात राजनीतिमा देखिनुभएको छ । बिद्यादेवी भण्डारी श्रीमानको मृत्यु पश्चात सांसद हुँदै अहिले राष्ट्रपति हुनुहुन्छ । माया ज्ञवाली, तीर्था गौतम, बिना मगर, विमला वली लगाएत थुप्रै महिला नेतृ अहिले प्रतिनिधि सभा र प्रदेश सभामा सदस्य हुनुहुन्छ ।
पितृसतात्मक सोच र सहानुभुतीको आधारमा निर्वाचन जित्न सकिन्छ भन्ने कारणले पनि श्रीमानको निधन पछि श्रीमतीलाई राजनीतिक दलहरुले अवसर दिने गरेको कतिपय राजनीतिक बिश्लेषकहरुको विश्लेषण छ ।
यसबाट पुरुष दिने र महिला लिने भन्ने जस्तो देखिन्छ । कतिपय अवस्थामा महिलाहरु राजनीतिका लागी पुरुषलाई अघि बढाउने र आफुले घर सम्हाल्ने गरेको महिला अधिकारकर्मीहरु बताउँछन् । श्रीमानको निधन पश्चात श्रीमतीलाई पार्टीले अवसर दिने कुरालाई सामान्य रुपमा लिनुपर्ने अधिकारकर्मी शर्मीला कार्कीको भनाइ छ ।
जे होस, नेपालको पछिल्लो राजनीतिक अवस्था र संसदमा महिलाको उपस्थितिलाई हेर्दा कथंमकदाचित पुरुष नेताको निधन भएमा निधन भएका नेताको श्रीमतीलाई निर्वाचन वा उपनिर्वाचनमा उम्मेदवार बनाएको पाइन्छ ।
होइन भने, सकेसम्म शीर्ष नेताको परिवार भित्रकै सदस्य नभए नजिकका नातेदार महिलाहरु उम्मेदवार भएको पाइन्छ । अझ समानुपातिक निर्वाचन प्रणालीबाट आएका महिलालाई हेर्ने हो भने त नेताहरुकै श्रीमती, छोरी, बुहारी वा निकटका नातेदार नै भेटिन्छन् ।
अहिलेको प्रतिनिधि सभा र प्रदेश सभामा यस्तो संख्या बढी छ । मन्त्री हुने पनि त्यस्तै देखिन्छन् । यसमा अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल १ नम्बरमै देखिनुहुन्छ । परिवार भित्रैबाट महिलालाई सांसद बनाउनेमा सत्तारुढ नेकपा, विपक्षी नेपाली कांग्रेस, राजपा सबै पार्टीमा देखिन्छ ।