काठमाडौं, २ पुस । नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेर नष्ट गरेकोे छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउनका लागि संघले १५ करोड रुपैंया बराबरको चल्ला नष्ट गरेको हो ।
संघले बजार सुधार गर्ने नाममा जबरजस्ती साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ । ह्याचरी उद्योग संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला नष्टगर्न थालेको साना किसान र कोल्डस्टोरका व्यापारिको गुनासो छ ।
व्यावसायिक लाभ लिन जिउँदो चल्ला नष्ट गरेको भन्दै किसानहरूले दुख व्यक्त गरेका छन् । ह्याचरी उद्योग संघले आफ्नो निर्णय मान्न ह्याचरी उद्योगीलाई पनि बाध्य बनाएको छ । निर्णय नमान्ने उद्योगमा संघका पदाधिकारी नै पुगेर चल्ला र अण्डा नष्ट गर्दै आएका छन् ।
यसरी आत्मनिर्भर भएको उद्योगलाई पनि धरासायी बनाउन खोज्नु कानुन बिपरित भएको उपभोक्ताकर्मीको भनाइ छ ।
यसरी मासुको मुल्य बढाउनकै लागी चल्ला नष्ट गर्नुले उपभोक्ताहरुले स्वच्छ मासुको उपयोगको अधिकार माथि पनि प्रहार भएको उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसनाको भनाइ छ । सरकारले कानुन हातमा लिने जो कोहीलाई पनि कानुन बमोजीम कारवार्ही गर्नुपर्ने उहाँको भनाइ छ ।
ह्याचरी उद्योगीहरुले १० दिनसम्म चल्ला उत्पादन बन्द गरेका छन् । नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आबश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ ।
कृषकले जिउँदो कुखुरा १२० देखि १३० रुपैंया प्रतिकिलोमा बेचेपनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य २ सय ६० रुपैंयाको हाराहारीमा रहेको छ । नेपालमा पोल्ट्री व्यसायीले उत्पादन बन्द गर्न लागेको यो पहिलो पटक हो ।